दफा १६
अरूको घर जग्गाको उपयोग वा प्राप्ति

(१) जलस्रोतको उपयोगको लागि देहायको कुनै काम गर्न अरू कसैको घर जग्गा उपयोग गर्न वा प्राप्त गर्न आवश्यक परेमा अनुमतिपत्र प्राप्त व्यक्तिले नेपाल सरकार समक्ष तोकिएबमोजिम निवेदन दिन सक्नेछः–
(क) बाँध वा तटबन्द बाँध्न,
(ख) नहर, कुलो वा सुरुङ्ग खन्न,
(ग) जमीन माथि वा मुनि पानीको ट्याङ्की बनाउन वा पाइप लाइन बिछ्याउन,
(घ) पोखरी बनाउन वा जल वितरण केन्द्र स्थापना गर्न,
(ङ) जलस्रोतको विकाससित सम्बन्धित अरू आवश्यक निर्माण कार्य गर्न ।
(२) उपदफा (१) बमोजिमको निवेदन प्राप्त भएमा नेपाल सरकारले तत्सम्बन्धमा आवश्यक जाँचबुझ गरी प्रचलित कानून बमोजिम सङ्गठित संस्थालाई जग्गा प्राप्त गराइ दिए सरह अनुमतिपत्र प्राप्त व्यक्तिलाई त्यस्तो घर जग्गा प्राप्त गराइदिन सक्नेछ ।
(३) नेपाल सरकारले वा अनुमतिपत्र प्राप्त व्यक्तिले जलस्रोतको विकास वा उपयोग सम्बन्धी कुनै निर्माण कार्य गरेकोमा त्यस्तो निर्माण कार्य भएको ठाउँ वा सो ठाउँको वरिपरि तोकिएको दूरीमा पर्ने घर जग्गा अरू कसैले कुनै खास कामको निमित्त प्रयोग गर्न नपाउने गरी नेपाल सरकारले निषेध गर्न सक्नेछ । त्यसरी निधेष गरिएको कारणबाट सम्बन्धित व्यक्तिलाई पर्ने हानीनोक्सानी वापत नेपाल सरकार वा अनुमतिपत्र प्राप्त व्यक्तिले तोकिएबमोजिम क्षतिपूर्ति दिनुपर्नेछ ।